0
Loading...
पुस २१, २०७३- राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको पहिलो डिभिजनको टिम ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब (टीसी स्पोर्ट्स) बाट खेल्ने भएका छन् । एकवर्षे अनुबन्धनको सहमति गरेका उनी शुक्रबार माले प्रस्थान गर्दैछन् ।
‘मेरो खेल पहिलेदेखि नै पछ्याइरहेको रहेछ । एजेन्टबिना नै टीसी स्पोर्ट्सका पदाधिकारीले गत अक्टोबरमा नै पहिलो रोजाइको गोलकिपरका लागि मलाई प्रस्ताव गरेका थिए । त्यसमा भर्खरै सहमति भयो र शुक्रबार माले जाँदैछु,’ उनले भने । टीसी स्पोर्ट्स माल्दिभ्सको उच्च श्रेणीको ‘धिवेही प्रिमियर लिग’ क्लब हो । सन् २०१५ देखि माथिल्लो डिभिजनमा उक्लिएको टीसी स्पोर्ट्स सन् २०१६ को लिग, एफए कप र प्रेसिडेन्ट्स कपमा उपविजेता भएको थियो ।
‘एक फुटबल खेलाडीका रूपमा व्यावसायिक लिग खेल्न पाउनु ठूलो कुरा हो, जहाँ क्लबको नियमित प्रशिक्षण र प्रतिस्पर्धा हुने गर्छ,’ एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली राष्ट्रिय टिमका गोलकिपर किरणले भने, ‘यस्तो लिगले खेलाडीलाई अझ राम्रो बनाउँछ, जुन देशका लागि पनि फाइदा हुन्छ ।’
उनले थपे, ‘दुईवर्षे अनुबन्धको प्रस्ताव आएको थियो तर जनवरी, २०१७ देखि लागू हुने गरी मैले एक वर्षलाई मात्र सहमति गरेको छु ।’
माल्दिभियन राजधानी माले पुगेर नै क्लबसँग अनुबन्धपत्रमा सम्झौता हुने उनले बताए । उनी पारिश्रमिकबारे भने खुल्न चाहेनन् । नेपालको लिग आयोजनाबारे अहिलेसम्म टुंगो नलागेको स्थितिमा उनले भने, ‘पैसाको मात्र कुरा होइन, एक्सपोजर सबैभन्दा महत्त्वपूर्ण हो ।
यो सिजन राम्रो गर्न सके अझ ठूलो क्लबमा अवसर मिल्न सक्छ । यस्तो अवसर अरु खेलाडीले पनि पायो भने नेपाली फुटबललाई राम्रो हुनेछ ।’ पछिल्लो सिजन एक खेलमात्र हारे पनि मजियासँग पछाडि परेको टीसी स्पोर्ट्सले यो सिजन लिग च्याम्पियन हुने लक्ष्य राखेको पनि उनले बताए । माल्दिभ्सका पूर्वगोलकिपर मोहम्मद इमरानले बाहिरिएपछि हेन्भिरुको क्लबमा किरणलाई अवसर मिलेको हो ।
माल्दिभ्सकै पूर्वखेलाडी मोहम निजाम टीसी स्पोर्ट्सका मुख्य प्रशिक्षक छन् । उनले आफ्नो क्लबमा किरण आबद्ध भइसकेको माल्दिभियन मिडियाले जनाएका छन् ।
धिवेही प्रिमियर लिगको नयाँ सिजन फेब्रुअरी, २०१७ मा सुरु हुनेछ । यसमा आठ टिमले एकअर्काबीच ३(३ खेल खेल्नेछन् । दक्षिण एसियाली फुटबलमा भारतपछि माल्दिभ्स लिगलाई उत्कृष्ट मानिन्छ । यी दुई देशका शीर्ष दुई क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो ठूलो क्लब प्रतियोगिता ‘एएफसी कप’ खेल्न पाउँछन् ।
उनी माल्दिभियन लिग खेल्ने तेस्रो नेपाली फुटबलर हुने छन् । यसअघि फरवार्डद्वय सन्तोष साहुखल र जुमनु राईले अल युथ लिंकेजबाट सन् २००९ को धिवेही लिग खेलेका थिए । सधँै रेलिगेसन टार्न संघर्षरत् युथ लिंकेज अहिले तेस्रो डिभिजनमा झरेको छ । मछिन्द्र क्लबबाट थ्रीस्टार हुँदै पछिल्लो समय मनाङ मस्र्याङीबाट खेलेका २६ वर्षीय किरणले दोस्रोपल्ट विदेशी लिग खेल्न लागेका हुन् । उनले सन्तोष र लोकबन्धु गुरुङसँगै सन् २०१० मा चित्तागोङ अबाहनीबाट बंगलादेश प्रिमियर लिग पनि खेलेका थिए । उनले थ्रीस्टारबाट राष्ट्रिय लिग एक र सहिद स्मारक ‘ए’ डिभिजन लिग दुईपल्ट जितेका थिए । मनाङ र थ्रीस्टारबाट दर्जन बढी नकआउट प्रतियोगिताको ट्रफी पनि उचालेका छन् उनले ।
वर्षयता नेपालको नम्बर एक गोलकिपरमा स्थापित किरणले मलेसियाको कुचिङमा नोभेम्बर, २०१६ मा भएको सोलिडारिटी कपमा चारै खेल पूरा समय खेलेका थिए । त्यसै क्रममा उनले ५० क्याप पनि पार गरेका हुन् ।
सोलिडारिटी कप च्याम्पियन हुनु नै नेपाली फुटबलको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसै आधारमा नेपाललाई एएफसीले फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर दिएको छ । उनले एएफसी च्यालेन्ज कप २००८ को छनोटमा मकाउसँग २४ मे, २००८ मा कम्बोडियामा भएको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।


Loading...

Post a Comment

 
Top