0
Loading...


काठमाडौँ, १३ माघ । तपाईको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन् । अथवा तपाई को घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुस । तपाईको घरको मिटर रिडर अब तपाई नै हुनुहुनेछ । तपाईको घरमा रहेको मिटरमा उठेको विद्युत्को युनिट हेरेर सोही बराबरको रकम नजिकको प्राधिकरणको कार्यालयमा गएर भुक्तानी गर्न सक्नुहुनेछ । त्यसरी महसुल तिर्न जाँदा तपाईले सीमित प्रतिशत लाभ समेत पाउनुहुनेछ । पछिल्लो पटक प्राधिकरणका मिटर रिडर र मिटर रिडर सुपरभाइजरकै मिलेमतोमा विद्युत् चोरी भएको पत्ता लागेपछि प्राधिकरणले उपभोक्ता स्वयम्लाई नै महसुल तिर्ने र आफ्नो युनिट बताउनका लागि आग्रह गरेको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत नागरिकलाई आफैँ मिटर अध्ययन गरेर महसुल तिर्न आग्रह गरेको छ । प्राधिकरणले उपभोक्ताको साथ पाएपछि उपभोक्तालाई नै थप जिम्मेवार बनाउन त्यस खालको योजना अगाडि सारेको हो । महानगरीय प्रहरी प्रभाग अपराध महाशाखाले विद्युत् चोरीमा संलग्न भएको भन्दै पहिलो चरणमा १६ जनालाई पक्राउ गरेपछि उपभोक्तालाई नै सचेत बनाउन आफैँ मिटर रिडर बन्ने अवसर प्रदान गरेको हो । कतिपय अवस्थामा लामो समयसम्म काठमाडौँ उपत्यकामा नै प्राधिकरणका कर्मचारी मिटर रिडिङमा नगएको पाइएपछि उपभोक्तालाई नै जिम्मेवार बनाउन र प्राधिकरणको भरोसा बढाउन त्यस्तो कदम चालिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । उपभोक्ताले त्यसरी महसुल बुझाउन जाँदा केही प्रतिशत छुट समेत पाउने र थप जिम्मेवार बन्न समेत मद्दत गर्ने बताइएको छ । विद्युत् चोरीमा प्राधिकरणकै कर्मचारी संलग्न रहेको र उनीहरुले व्यवसायीसँग मिलेर रु १३ अर्ब बराबरको विद्युत् चोरी गरेको पाइएपछि प्राधिकरण व्यवस्थापनले दुई हजार ५०० कर्मचारीलाई पहिलो चरणमा सरुवा गरेको छ । चोरीको जालो निर्मूल पार्ने अभियानको रुपमा कर्मचारी सरुवालाई लिइएको बताइएको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट उपलब्ध हुने विद्युत्मध्ये २५ प्रतिशत चुहावट तथा चोरीका कारण खेर गइरहेको छ । प्राधिकरणले पछिल्लो पटक आठवटै क्षेत्रीय कार्यालयलाई चोरी तथा चुहावट नियन्त्रण गर्न विशेष कार्ययोजनासहित निर्देशन दिएको थियो । उपभोक्ताले हुकिङमार्फत चोरी गर्ने गरेकोमा त्यस्तो कार्य मुलुकभर नै नियन्त्रणमा आउन थालेको अवस्थामा कर्मचारी नै चोरीमा संलग्न भएको तथ्य सार्वजनिक हुनुले भने थप समस्या पैदा गरेको छ । विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न प्राधिकरणका कार्यरत केही कर्मचारी सङ्गठनले माग गरे पनि केही टे«ड युनियनले भने चोरीको अभियोग लगाएर कर्मचारीको सरुवा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्राधिकरणले भने लामो समयदेखि सरुवा नभएका कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको नानाएको छ । विद्युत् चोरी नियन्त्रण गर्नका लागि प्राधिकरणले निकट भविस्यमा नै स्मार्ट मिटर ल्याउने तयारी समेत गरिरहेको छ । रासस
Loading...

Post a Comment

 
Top