0
Loading...
काठमाडौं– चलचित्र छक्कापन्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै विवादमा तानिएका निर्माता तथा कलाकार दीपकराज गिरीले शनिबार प्रहरीमा उजुरी दर्ता गराएका छन् । गिरीले आत्महत्याको घटना र पाइरेसीको निश्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी बृत्त गौशालामा उजुरी दर्ता गराएका हुन् ।
उनले दर्ता डिएसपी नवराज कार्कीलाई बुझाएको उजुरीपत्रमा छक्कापन्जाको पाइरेसीपछि आत्महत्याको विषयलाई लिएर आफू र आफ्नो टीमको सामाजिक प्रतिष्ठानै गुम्ने गरी विभिन्न आरोप लगाईको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ ।
उजुरीमा भनिएको छ– नवलपरासीका २३ वर्षीय कृष्ण सुवेदीले झुण्डिएर आत्महत्या गरेकोमा त्यसपछि विभिन्न समाजिक सञ्जालहरुमा छक्कापञ्जा फिल्मको पाइरेसीसम्बन्धी विषयलाई मोडी म (दीपकराज गिरी)र मेरो टीमको धम्कीको करणले ज्यान गएको भन्ने आरोप लगाई पटकपटक विभिन्न स्थानहरुमा हाम्रो सामाजिक प्रतिष्ठा गिराउने काम भएकाले उक्त घटनाको सत्थ तथ्य र निश्पक्ष छानबिन गरी कारबाही गरि पाउँ ।’
साथै घटना नबुझिकनै छक्कापन्जा टीमप्रति दुस्प्रचार भइरहेको भन्दै त्यस्ता व्यक्ति वा संस्थामाथि समेत आवश्यक छानबिनको माग उजुरीमा गरिएको छ ।
उजुरी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गिरीले आत्महत्यास्थलमा भेटिएको भनिएको सुसाइड नोट नै नक्कली हुन सक्ने आशंका गरे । उनले नोटमा लेखिएको भाषानै संकास्पद रहेको भन्दै आफूहरुमाथि षड्यन्त्र गर्न खोजिएको बताए ।
मृतकबाहेक पाइरेसीको आरोप लागेका अरु तीन जना पनि रहेको र उनीहरुले नै मृतकलाई धम्क्याएको हुन सक्ने दीपकको आशंका छ ।
उजुरी दर्ता गर्दै डिएसपी नवराज कार्कीले ४ –५ दिनभित्र पोष्ट मार्टमको रिपोर्ट आउने र घटनाको अनुसन्धान सुरु भइसकेकाले छिट्टै सत्यतथ्य बाहिर आउने बताए ।
उजुरी दर्ता गर्न दीपकसँगै कलाकार दीपश्री निरौला, बुद्धी तामाङ, निर्मल शर्मा, सुमन भान्जालगायत गौशाला पुगेका थिए ।
Loading...

Post a Comment

 
Top