0
Loading...
विश्वमा नेपाली नभएको देश कमै होलान । चार वर्ष अगाडि म यूरोप छिर्दा म वसेको शहरमा भने मैले कोही नेपाली भेटेको थिइन । नेपालीमा कुरा नगरको पनि थुप्रै भएको थियो , आफुलाई नेपाली वोल्न कस्तो मन लाग्थ्यो । कहिले कहिले त विर्सिएर विदेशीहरुसँग पनि नेपाली शब्दहरु वोलेको पनि याद छ । कोही कोही मान्छे नेपाली जस्तै देखेर “तपाँइ नेपाली हो” भनेर सोध्थें , उनिहरु नवुझेर ट्वाँ पर्थे अनि म वुभिहाल्थें यी नेपाली होइनन भनेर, अनि खिस्स हाँसेर बाटो लाग्थें ।
एकदिन दिउसोको कफि व्रेकमा म मेरो अफिस नजिकैको समुद्र किनार नेरको पार्कमा वसेर घाम ताप्दै, वालुवामा खेलीरहेका पर्यटकहरुलाई हेर्दै अनि मोवाइलमा गेम खेल्दै थिएं , नजिकै मोवाइलमा एउटा मान्छे चर्को चर्को कुरा गर्दै थियो, नेपाली भाषामा । यसैले मलाई यो नेपाली हो भन्नेमा शंका लागेन । ऊ म भएतिरै आए पनि हुन्थ्यो जस्तो लागेको थियो । नभन्दै त्यो मान्छै फोनमा कुरा गरीसके पछि मेरो नजिकै आयो अनि मलाई भन्यो “यु हाव लाइटर ?” उसलाई म गैह्र नेपाली जस्तो लागेछ तर मैले उ नेपाली हो भन्ने अघि नै पत्तो पाइसकेको थिएं । “म सँग छैन दाइ लाइटर , म कहिल्यै चुरोट पिंउदिन ।” उ खिस्स हाँस्दै “ए तपाँइ पनि नेपाली हो ?”
उनि पनि एक्लो नेपाली म पनि एक्लो नेपाली , हाम्रो मित्रता वढ्दै गयो । मित्रताले उमेर, जात, धुम्रपान गर्ने नगर्ने केही भन्दो रहेनछ । हप्तामा कम्तिमा पनि पाँच दिन हाम्रो भेट हुन्थ्यो , म मेरो लन्च व्रेकमा उनलाई मिसकल गर्थें उ जसरी भएपनि आइपुग्थे । उनि त्यही नजिकैको रेष्टुरेन्टमा लेखा हेर्दा रैछन , उनलाई एकछिन चिया खाने समय निकाल्न केही गाह्रो हुन्थेन । मलाई भने अनावश्यक समय निकाल्न प्राय असम्भव नै थियो ।


हाम्रो भेटघाट वढ्दै गयो । उनि म भन्दा त्यस्तै १० वर्ष जेठा हुँदा हुन । मैले उनलाई अंकल भन्न थालें , उनले भने मलाई किशोर जी भन्थे । उनले काम गर्ने रेष्टुरेन्ट त्यही नजिकै भएपनि हामीले कहिल्यै त्यो रेष्टुरेन्टमा भेटेनौं । हामी त्यो रेष्टुरेन्टको नजिकै तर अर्कै मा वस्थ्यौं । उनले चुरोट खाने हुनाले हामी जहिले पनि वाहीर पट्टि वस्थ्यौं । हाम्रो मित्रता देखेर यहाँका हामीलाई चिन्ने मान्छेले त गे त होइन सम्म भन्न भ्याएछन ।
मलाई अर्काको व्यक्तिगत कुरा जान्ने पटक्कै मन हुदैन । तर हामीहरु यस्ता नजिकका मित्र भइसकेका थियौं की हामीहरु सवै मन भित्रका कुरा पनि धक नमानी ओकल्न सक्थ्यौं । “काठमाण्डौको वजारमा घर छ , पहाडमा टन्न जग्गा छ अधियां लगाएर खान पुग्ने , त्यस्ती राम्री अन्टि हुनुहुन्छ , वावुले कलेज पढ्दै छ , नानी स्कुल जान्छिन , यो वेलामा किन यूरोप आउनुभएको अन्कल ?” एक सांझ मेरो मुखवाट फ्याट्ट निस्क्एिछ । “नेपालमा छोरा छोरीको भविष्य देखीन किशोर जी ।” पहिले त अंकलले  यस्तै यस्तै कुरा गरे । वाइनले अलि अलि छुन थालेछ क्यारे उनले सवै कुरा ओकल्न थाले । “मैले १० वर्ष एउटा सस्थानमा लेखा हेरें । गाँउवाट ५०० रुपयां लिएर आएको मान्छे कसरी यस्तो अवस्था वनाएं अहिले, भन्नुहोस त ? काठमान्डौको घर , गाडी, जग्गा सव मेरै कमाइ हो ।” वाइनको गिलाँस ओठवाट हटाँउदै मुख विगार्दै भने “सस्थानको १२ हजार जागीरले मैले कसरी यति कमाँए ? सवै दुइ नम्वरी काम । मैले त केही गर्ने होइन , खाली हाकिमसावलाई सहयोग गर्ने मात्र हो । मैले सहयोग नगरे के थाहा मेरो जागीर नै चट हुन सक्थ्यो । मेरो जागीरले त चिया खाजा खर्च नै पुग्दैनथ्यो । कानुनी तवरले त म चोखो थिएं तर मलाई चिन्ने जो कोहीले पनि मलाइ भ्रष्टचारी भनेर चिनीसकेका थिए । एकदिन त त्यो विचरी छोरी लाई समेत भ्रष्टचारीकी छोरी भनेर झिस्क्याएछन खेल्ने ठाँउमा । त्यस पछि त मलाई नेपालमा वस्नै मन लागेन । अनि यनिहाउ नेपाल छोडेर जाउ जस्तो भयो मलाई । अनि आफनै योग्यता अनुशारको काम पनि मिल्यो कता कताको लिकं वाट त्यसरी आएको हो म यहाँ ।” त्यस पछि के भएछ कुन्नि मैले आँफुलाई अंकल भन्दा पनि अग्लो देख्न थालेछु । “त्यस्तो टेन्सन नलिनु अंकल , चरेस खानु वरु, तर हरेस नखानु भन्छन । पहिला जे भयो भयो , अव नराम्रो काम नगर्नु , राम्रो काम गर्नु , सामाजिक काम गर्नु भइहाल्यो नि ।” म अंकललाई नै सल्लाह दिन थालें । “हो किशोर जी त्यसपछि मैले जागीरवाट राजीनामा दिएं । आजकल मेरो सामाजिक सेवा तिर पनि ध्यान जान थालेको छ । थाहा छ मैले गाँउमा कति सहयोग गरेको छु । गाँउमा भरखर वन्न लागेको हेल्थ पोष्टमा सवभन्दा धेरै आर्थिक चन्दादाता भनेर मेरो शालीक नै वनाएछन , मैले त म जिउदो मान्छेको शालीक वनाउन पदैन भनेको थिएं , वनाइछाडेछन । ग्रहशान्ति देखी थुप्रै धार्मिक काम पनि गरें । केही समय अगाडी श्रीमतीको जन्म दिन पारेर वृद्धाश्रममा फलफुल , लत्ता कपडा पनि वांडन लगाँए ।” अंकल त प्रवचन दिए झै पो गर्न लागे । त्यो दिन अंकलको कुरा सुन्दा त म छक्कै परें । मनमनै सोचें “वुढाले त भ्रष्टचार गरेको पाप त धर्मकर्म गरेर पखालीसकेछन त ।” तीनले साँचो वोलेका हुन कि वाइन वोलेको हो त्यो त भगवान जानुन ।
ढेड वर्ष अगाडी भुइचालो जाँदा केही वेरमै थाहा पाएछन अंकलले । आत्तिएर रनभुल्लमा परेका थिए । मलाई पनि उनैले भनेर थाहा भयो । विदाको दिन थियो, दिन भरी सँगै वसीयो । वेलुका पख मात्र थाहा भयो हामीहरुको परीवार आफन्त हरु सकुशल नै रहेछन । लाग्यो “यो भुकम्पमा वाँच्ने मान्छे त एकदम भाग्यमानि नै हुन” । “के गर्नु यस्तो वेलामा नेपालमा भएको भए उद्धार गरेर भएपनि केही मान्छेलाई वचाउन सकिन्थ्यो होला ।” अंकलले सुइयं गर्दै भनेका थिए । “हेर्नुहोस अंकल हामीले पनि सहयोग गर्न सक्छौं , आपत परेका नेपालीलाई खाद्धान्न , लुगा फाटा , औषधि , पाल पठाएर ।” उनले मेरो कुरा विच मै काट्दै थपे “यो त हामी यति टाढा हुनेले कसरी पठाउने र ? हामीले आर्थिक सहयोग गर्न सक्छौं ।” “हाम्रो एक दुइ हजारले के पो होला र अंकल” मैले मलीन हनुहार वनाउदै भनें । “एक थुकि सुकि , सय थुकि नदि भन्ने सुन्नुभएको छैन । हामीले चन्दा संकलन गरेर अनि हामीले पनि अलि अलि थपेर पठाउनु पर्छ ।” उनले आफनो नेत्रित्व तथा वक्त्रृत्व कला राम्रो छ भन्ने जस्तो गर्दै भने । मैले यसमा धेरै कुरा त गर्न सकिन तर आँफुले सकेको केहि पेसा अंकलले खोलेको चन्दा संकलन मा दिएं । अंकलले निकै आकर्षित तरीकाले प्रचार प्रसार समेत गरेछन पैसा पनि थुप्रै संकलन गरे जस्तो लागेको थियो । त्यसपछि हाम्रो भेट लामो समय भएन ।
भुकम्पले गर्दा घर भत्किएको छ , त्यस्तै के के भनेपछि कम्पनिले विदा दिन गाह्रो मानेन । करीव एक वर्ष नेपाल वसेर म गत हप्ता यूरोप फर्किएं । अंकललाई फोन गरें , अंकल अति व्यस्त भइसकेछन । वल्ल वल्ल फोनमा कुरा भयो । एक साझ एउटा नयाँ रेष्टरेन्टमा वस्ने सल्लाह भयो । रेष्टुरेन्टमा अंकलको फोटो सहित को दर्ता कागज टाँसेको देखेर त म छक्कै परें । “ओहो , एक वर्षैमा यत्रो प्रगती ? पोहोर एक विदेशीको रेष्टुरेन्टमा काम गर्ने मेरो अंकल एका एक ५ जना लाई रोजगारी दिने साहु ? के हो अंकल यत्रो प्रगतीको रहस्य ?” अंकलले एउटा आँखा झिम्क्याउदै भने “नेपालवाट पैसा मगाएर वनाएको हो यो रेष्टुरेन्ट किशोर जी ।” अव केही समय मा नै सपरिवार यतै ल्याउने योजना सुनाए । तर रात नछिप्पिए सम्म वा वाइनले दिमाग नखोले सम्म अंकलले यहा भन्दा वढि कुरा गरेनन । “अंकल कतै भुकम्प पिडितलाई भनेर संकलन गरेको चन्दाले त रेष्टुरेन्ट खोलेको होइन ?” मैले चर्को स्वरमा मुख विगार्दै सोधें । “होइन किशोर जी , सवै पैसा मैले कहाँ खर्च गरें र ? अलि अलि त राहत वाँड भनेर श्रीमतीलाई पठाएको हो । श्रीमती अनि छोरा छोरीले राहत वाँड्दै गरेको फोटो फेसवुकमा राखेकै हो , तपाईले देख्नुभएन ? अलि अलि त मह काड्ने ले हात त चाट्ने नै भए नी ।” “हात चाटे नी सवै मह त चाट्दैनन होलान नी ? विदेश आएर पनि तपाँइको वानि सुध्रियनछ” भन्दै म छुटिए अंकल वाट ।
Loading...

Post a Comment

 
Top