0
Loading...
टिभी अन्नपूर्ण
काठमाडौं । धेरैले नेपाल पशुपतिनाथले चलाएको देश भन्दा ठट्यौली गरेझैं लाग्छ । तर नेपालको राजनीतिक दुरदर्शिता, कर्मचारीतन्त्र र सुरक्षा प्रशासनको काम गर्ने तौर तरिकाले पशुपतिनाथ बाहेकले देश चलाएकै छैन भन्ने स्पष्ट हुन्छ ।
बुधबार नेपाल प्रहरीलाई फोन मार्फत एउटा जानकारी आयो । साउदी अरेबियाबाट गोपालबहादुर शाहीले ठुलो परिमाणमा सुन लिएर आउँदैछन् भन्ने । आउने समय रिपोर्ट भयो, आउँदै गरेको फ्लाईट नम्बर र शाहीसँगै लगेजको फोटोपनि ।
सोही सूचना र फोटो बोकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । रिपोर्टमा उल्लेखित समयमा नै गोपालबहादुर शाही विमानस्थलमा उत्रिए । शाहीको २ वटा फोटो र लगेजको भिन्दै फोटोे भेटेको प्रहरीले शाहीलाई चिन्न मुस्किल थिएन तर उनको साथमा कुनै लगेज नै नभएको भेटेपछि भन्ने प्रहरी अधिकारी सुचना गलत भएको अनुमान गरे । उनीहरु केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाललाई यो बिषय जानकारी गराए । तर सिलवालले पिछा नछोड्न निर्देशन दिए ।
तर प्रहरी अधिकारीहरुले शाहीको लगेजबारे कुनै पत्तो पाउन सकेनन् । त्यसपछि प्रहरीले सुराकी दिनेसँग फेरी लगेजबारे गुहार माग्यो । सुनले भरिएको शाहीको लगेज बिहिबारमात्रै आउँदै थियो । बुधबार खाली हात फर्केको प्रहरी अधिकारीको टोली शाहीलाई ‘फलो’ गर्दै बिहीबार फेरि विमानस्थल पुग्यो । तर गोपाल शाहीले आफूलाई प्रहरीहरुले पिछा गरेको कुनै भेऊ पाएनन् ।
उनी सरासर आफ्नो लगेज लिन भन्सार पुगे । बरु विमानस्थलका कर्मचारीहरु निक्कै चनाखो थिए । उनीहरुलाई थाहा थियो त्यो लगेज भित्र विमानस्थलकै सेटिङमा केही बस्तु आउँदै थियो । यसकारण भन्सारको चेकिङमा कार्यरत कर्मचारीले सोधपुछ नै नगरी उनको लगेज दिए । शाही विमानस्थलबाट निस्किए नजिकै रहेको ट्याक्सी पार्कबाट १ हजार भाडा दिनेगरी जोरपाटीका लागि ट्याक्सी चढेर एयरपोर्टबाट गौशालातर्फ आए । तिलगंगामा आउँदा जब प्रहरीले उनको ट्याक्सी रोक्यो अनि झस्किए ।
शाहीलाई कुरेर बसेका थिए प्रहरीले । प्रहरीले बा.४च ९११४ नम्बरको कार समेत नियन्त्रणमा लियो । तर मुख्य सुन तस्करबारे भने अहिलेसम्म केही खुल्न सकेको छैन ।
सुटकेस भित्रको सुन खोज्न प्रहरीलाई डेढ घन्टा लाग्यो
सिआइबीले तीनै जनालाई नजिकको महानगरीय प्रहरी वृत्त गौशाला ल्यायो । सुटकेस खोल्नुअघि प्रहरीले मिडियालाई बोलायो । त्यतिबेला साढे २ बजेको थियो । उनीहरूसँग कति सुन छ भन्ने प्रहरीलाई जानकारी थिएन । ३ बजे पत्रकार टोली वृत्तमा जम्मा भइसकेका थिए । पत्रकारका क्यामेरा अगाडि सिआइबीकी एसपी मिरा चौधरी, डिएसपी प्रवीण पोखरेल लगायतले सुटकेस खोल्न थाले । सुटकेसभित्र किचेनका सामानदेखि गाडीका पार्टपुर्जासम्म थिए ।
बोतलको आकारमा केही गह्रौं डब्बाहरू थिए । निकै मेहनतपछि मात्र उक्त बोतल आकारको वस्तु प्रहरीले खोल्यो । त्यसभित्र बिस्कुट आकारमा सुनका टुक्राहरू थिए, जुन कार्बन पेपर र टेपले बेरेर राखिएको थियो । यति बलियोसँग ती सुन बेरेर राखिएको थियो कि प्रहरीलाई खोल्नै करिब डेढ घन्टा लागेको थियो ।
‘१० तोलाका दुई सय ८२ वटा सुनका बिस्कुट रहेछन् ।’ सुन निकालिसकेपछि पसिना पुछ्दै सिआइबीकी एसपी चौधरीले भनिन् ‘औँठी १९ वटा र १८ वटा सुनजडित माला पनि बरामद भएको छ ।’
दुई सय ८२ वटा सुनका बिस्कुटको तौल करिब ३२ किलो ८ सय ८१ सय ग्राम थियो । त्यस्तै, औँठी र माला करिब ६ सय ८४ ग्राम बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सुन करिब १५ करोड मूल्य बराबरको छ । प्रहरीले एकैपटक बरामद गरेको यो दोस्रो ठूलो परिमाण हो । विमानस्थलबाटै तस्करी भई आएको यति धेरै परिमाणको सुन भने पहिलोपटक बरामद भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । विदेशबाटै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनी बताउँछन् । तस्करीको सुन कसको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।
सुन तस्करीमा विमानस्थलकै कर्मचारीको मिलेमतो
स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । भन्सारको स्क्रिनिङमा सुन लगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ । तर ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरीको दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् ।
पक्राउ परेका तीन युवकमध्ये शाही बुधबार साउदी अरेबियाबाट एयर अरेबियाको विमानबाट नेपाल आएका थिए । उनलाई बिहीबार मात्र एयरलाइन्सले लगेज ल्याइदिएको थियो । सुटकेसमा विभिन्न सामानभित्र सुन लुकाइएको थियो । शाहीले ल्याएको सुन लिन जानेमा थापा र काफ्ले छन् । उनीहरू भरिया मात्र भएको एसपी चौधरीले बताइन् ।
विमानस्थलबाट हुने सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका शाही ६ दिनअघि मात्र साउदी अरेबिया गएका थिए । सुन तस्करीकै लागि उनी पाँचपटक साउदी गइसकेका छन् । पक्राउ परेकाहरूमाथि विस्तृत अनुसन्धान नगरी सार्वजनिक गर्दा मुख्य तस्करलाई भने भाग्न सहज भएको छ । प्रहरीले पक्राउ गरेलगत्तै मिडिया मार्फत सार्वजनिक गरेको थियो । सुन लिन जोरपाटीमा बसेका दुई युवक काँडाघारीबाट आएका थिए । उनीहरूमाथि विस्तृत अनुसन्धान गर्न बाँकी रहेकाले मुख्य तस्कर पत्ता नलागेको डिआइजी सिलवाल बताउँछन् ।
प्रहरीको कमिसन घट्यो
विगतमा प्रहरीले बरामद सुनको १५ प्रतिशत कमिसन पाउने गरेका थिए । तर, अहिले जतिसुकै सुन बरामद गरे पनि पाँच लाख रुपैयाँ मात्र कमिसन पाउँछन् । कमिसनको विषयमा पटक–पटक विवाद भएपछि सरकारले भन्सार चोरी–पैठारीसम्बन्धी नियमावली संशोधन गरी कमिसन घटाएको हो ।
पाँच लाखभन्दा कम मूल्यको सामान बरामद गरे त्यसको १० प्रतिशत तथा पाँच लाख वा सोभन्दा माथिको सामान बरामद गरे पाँच लाख सुराकी पाउने प्रावधान राखिएको छ । चार वर्षअघि सिआइबीले नै बरामद गरेको ३५ केजी सुनको कमिसनको विषयमा सिंगो प्रहरी नै बदनाम भएको थियो । सुराकीले पाउने कमिसन पनि आफैँले राख्न लागेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । जुन विवाद हालसम्म टुंगिएको छैन । कसिमन घटाएपछि प्रहरीले पनि पहिलेजस्तो सुन बरामद गर्न चासो दिएको छैन ।
सुन तस्करीमा धेरै नाफा भएकाले पनि ठूलो मात्रामा नेपालमा सुन तस्करी हुने गरेको छ । भन्सार नतिरी सुन भित्र्याउँदा एक किलोमा करिब पाँच लाख नाफा हुने गर्दछ । अहिले बजारमा सुनको अभाव रहेकाले पनि तस्करी बढेको हो । तस्करीको सुन राजधानीका सुन पसलबाटै बिक्री हुने गरेको विगतका प्रहरी अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
चीनबाट सडकमार्ग हुँदै आउने सुन प्रहरीले पटक–पटक बरामद गरे पनि विमानस्थलबाट आउने सुन ठूलो परिमाणमा यसरी बरामद भएको यो पहिलोपटक हो । सुन तस्करीमा हुन्डी कारोबारको सम्बन्धसमेत जोडिएको छ । हुन्डीको कारोबार मिलाउन साउदीबाट नेपालमा सुन तस्करी भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । सुन र हुन्डीको कारोबारमा एउटै समूह संलग्न छन् ।
हामीलाई चेकजाँचको अधिकार छैन : डिआईजी गोविन्द निरौला
त्रिभुवन विमानस्थलमा कार्यरत डिआईजी गोविन्द निरौलाले विदेशबाट आउने सामानको भन्सारले मात्र चेकजाँच गर्दै आएको र त्यो अधिकार आफूहरुलाई नभएको बताएका छन् । डिआईजी निरौला भन्छन्, ‘कोही व्यक्तिलाई शंका लागेको खण्डमा मात्र हामीले नियन्त्रणमा लिएर खानतलासी गर्न पाउँछौँ । नत्र त्यो अधिकार हामीलाई हुँदैन ।’
छानबिन सुरु गरेका छौँ : एयरपोर्ट भन्सार प्रमुख, नारायणप्रसाद सापकोटा
भन्सार चेकजाँचबाटै ठूलो परिणाममा सुन पास भएपछि एयरपोर्ट भन्सारका कर्मचारीमा छानबिनमा तानिएका छन् । चेकजाँचमा संलग्न कर्मचारीमाथि आफूले छानबिन सुरु गरेको विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए । उनले भने, ‘सुन बरामद भएको थाहा पाएलगत्तै स्क्रिनिङमा संलग्न कर्मचारीमाथि सोधपुछ गरेको छु । सिसिटिभी फुटेज पनि सुरक्षित राखेर थप अनुसन्धान अघि बढाइएको छ, ठूला घटना पत्ता लगाउने सिआइबीले पनि सायद यसमा कर्मचारीको मिलेमतो भए–नभएको पत्ता लगाउनेछ ।’
Loading...

Post a Comment

 
Top