0
Loading...
सबैभन्दा बढी यात्रु बोक्ने सूचीको १ नम्बरमा नेपाल एयरलाइन्स
अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा जहाज थप गरेपछि सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्समा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम १ नम्बर बनेको छ। काठमाडौंलाई उद्गम गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्स नेपाल वायुसेवा निगम बनेको हो। 
 
सन् २०१६ को ९ महिनाको तथ्यांक अनुसार निगमले अघिल्लो वर्षको सोही अवधिमा भन्दा  बढी यात्रु बोक्न सफल भएको छ। 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको तथ्यांकअनुसार सन् २०१६ को जनवरीदेखि सेप्टेम्बरसम्म निगमले २ लाख ७५ हजार ७ सय यात्रुलाई ओसारपसार गरेको छ। दोस्रोमा भने कतार एयरवेयज रहेको छ। जसले २ लाख ५८ हजार यात्रुलाई सेवा प्रदान गरेको छ। यो संख्याको यात्रु बोक्न निगमले २ हजार २ सय ४९ उडान भरेको छ। 
 
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार यो अवधिमा कूल २५ लाख ७ हजार ६ सय ७४ यात्रुले यात्रा गरेको यो संख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो।
 
तर समग्रमा यात्रुको संख्या बढेपछि निगमले बोक्ने यात्रु संख्यामा भने धेरै नै बृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा निगमले बोक्ने यात्रु संख्या ४५ प्रतिशतले बृद्धि भएको  छ।
 
जहाज थप भएपछि गन्तव्य विस्तार भएको र अरु एयरलाइन्सभन्दा सस्तो भएकोले नेपाल एयरलाइन्सप्रति यात्रुहरुको प्रवाह बढेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। 
 
२०१६ काे ९ महिनामा कसले  कति यात्रु बोके?
 
एयरलाइन्सको नाम
यात्रुसंख्या
नेपाल एयरलाइन्स
२,७५,७०१
कतार एयरवेयज
२,५८,८८४
एयरअरेबिया
२,५२,७९७
जेट एयरवेयज
२,३३,७५९
फ्लाईदुबई
२,२७,७५५
                                                                                             स्रोतःत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
 
७ नम्बरदेखि १ नम्बरसम्मको यात्रा
 
निगमसँग दुई वटामात्र जहाज हुँदा सन् २०१४ मा बोकेका यात्रु संख्याका आधारमा ७ औं नम्बरमा थियो। जुनबेला कतार एयरवेजले सबैभन्दा बढी ३ लाख ८४ हजार यात्रु ओसारपसार गरेको थियो। त्यतिबेला निगमले जम्मा २ लाख ६ हजार यात्रु बोक्दै सातौं भएको थियो।
 
सन् २०१५ मा दुई वटा न्यारो बडी एयरवस विमान खरिद गरेको निगम यो सूचीको ५ औं स्थानमा अट्न सफल भयो। सन् २०१६ को ९ महिनाको तथ्यांकअनुसार निगम १ नम्बरमा पुगेको छ।
 
एकातिर निगमका यात्रुसंख्या बढ्दै जाँदा त्रिभुवन विमानस्थलमा प्रभुत्व जमाएका विदेशी एयरलाइन्सका यात्रुसंख्या भने घट्दै गएका छन्।
 
निगको व्यवस्थापनलाई मात्र दोष दिएर नथाक्नेहरुको लागि यो तथ्यांक गतिलो जवाफ भएको र आफूहरु यसबाट अझै उत्साहित भएको कंसाकारले बताए।
 
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा करिब १२ प्रतिशत उडान हिस्सा रहेको छ। यात्रु हिस्सा ११ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढी हो।  निगमले दुई वटा एयरबस किनेर ल्याएपछि अन्तर्राष्ट्रिय गन्तव्य थप गरेकोले यो परिणाम  हात पार्न सफल भएको निगमका महाप्रबन्धक कंसकारले बताए।
 
सन् २०१५ मा दुई वटा एयरवसका वाइड बडी विमान खरिद गरेको निगमले विभिन्न आठ स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। यसले हाल भारतका तीनवटा सहर, कतारको दोहा, दुबई, मलेसिया, बैंककमा अन्तराष्ट्रिय उडान गर्दै आइरहेको छ।
 
 व्यवस्थापनमा पनि निरन्तर सुधार आइरहेको र कर्मचारीहरु जसरी पनि परिणाममुलक काम गरेर देखाउनेगरी खटेकोले अब जहाज थपिने वित्तिकै योभन्दा राम्रो पकड कायम गर्ने कंसाकारले दाबी गरे।  
 
‘जहाज हुने हो भने नेपाल एयरलान्स छोटो समयमै दक्षिण एसियाको उत्कृष्ट एयरलान्सको पुरानो छवि पुनर्ताजगी गर्न सक्षम हुन्छ भन्ने यो संकेत हो’ सेतोपाटीसँगको कुराकानीमा  कंसकारकले भने।
 
अहिले निगमले सातामा भारतका तीन सहरसहित १७ वटा उडान गर्छ। त्यस्तै दुबई ४, दोहा ३  बैंकक ३, मलेसिया ३ र हङकङ ४ वटागरी जम्मा ३४  अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ। 
 
थप दुईवटा वाइड बडी जहाज खरिदको प्रक्रिया अन्तिमतिर पुर्‍याएको निगमले नयाँ आउने बित्तिकै व्यापार मात्र नभई नेपालको पर्यटनलाई पनि टेवा पुर्‍याउने बताउँछन् कंसकार।
 
‘नयाँ वाइड बडी आउनेबित्तिकै पर्यटकीय गन्तव्य नै प्राथमिकतामा राख्छौँ।’ उनले भने, ‘जापान, कोरिया, अष्ट्रेलिया जस्ता हाम्रा नयाँ गन्तव्य हुन्छन्।’
 
अरुभन्दा सस्तो शुल्क र उत्कृष्ट सेवा दिने प्रयासमा सबै व्यवस्थापकीय सुधार गर्न उत्तिकै लागिपरेकोले निगमका राम्रा दिन सुरु भएको कंसकारले बताए।
 
फाेटाे: नेपाल वायुसेवा निगम
Loading...

Post a Comment

 
Top