काठमाण्डाै ,२१ पुस। गत मंगलबार बिहान ७ बजेतिर आफ्नो जेल बाहिरको धुले मैदानमा पानी लगाइरहेका थिए- यमबहादुर सार्की । एकाएक जेलर आएर भन्यो- तयार होउ, तिमी नेपाल आजै फर्कंदैछौं ।पाकिस्तानको कराँची शहरभित्र रहेको ल्यान्डी जेलमा ८ सयभन्दा बढी कैदी थिए । उनीसँगै एउटै कोठामा १ सयभन्दा बढी भारतीय/पाकिस्तानी कैदी बस्थे । ती मध्ये आफूलाई मात्रै जेलबाट छुट्कारा दिएको खबरले यमबहादुर अचम्ममा परे । ‘मैंले नुहाएको छैन, केही समय लाग्छ,’ यमबहादुरले जेलरलाई जवाफ फर्काए ।
‘होइन–होइन । बाहिर गाडी तयार छ, एयरपोर्ट हिडिहाल,’ जेलरले आदेश दियो ।अचम्म मान्दै यमबहादुरले आफ्ना एकसरो कपडा ब्यागमा कोचे । कुनामा राखिएको प्लास्टीके चप्पल लगाए र, साथमा दिइएको सिन्ध प्रान्त सरकारको ‘घरफिर्ती अनुमति पत्र’ (डिपोर्टेसन लेटर), नेपाली दूतावास (इश्लामावाद)ले दिएको ट्राभल–डकुमेन्ट तथा घरफिर्ती टिकट पनि लिएरै बाटो लागे ।
‘म त गुजराततिर ठूलो पानी जहाज मात्रै देखेको मान्छे थिएँ । बितेको १४ वर्षदेखि जहाजमा बसेर माछा मार्ने काम गर्दै आएको थिएँ,’ काठमाडौंको चिसोमा काँपिरहेको स्वरमा यमबहादुर भन्दै थिए, ‘एकाएक ठूलो हवाइजहाजमा चढेर कराँचीबाट ओमान(मस्कट) हुँदै काठमाडौं उत्रिएँ ।’मंगलबार साँझ ८ बजे त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा यमबहादुर ठूलो अन्योल र असमन्जसको स्थितीमा थिए ।
‘चिन्ता नगर्नुस्, म तपाईंलाई लिनका लागि झापादेखि आएको हुँ,’ भारतीय समुद्रमा माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगेका यमबहादुरबारेको समाचार पढेर उद्धार–समन्वयका लागि तयार भएका झापा, दुधेका युवा व्यवसायी सन्तोष थोप्रा लिम्बूले ढाप मार्दै भने, ‘अब गुल्मीको बडागाउँसम्म जाने र घर–परिवारलाई भेट्नेसम्मको व्यवस्था म गराउनेछु ।’सन्तोषका साथमा उनका दाइ मनोज लिम्बू र झापादेखिकै केही सहयोगीहरु पनि काठमाडौं विमानस्थलसम्म आएका थिए । सन्तोषले यमबहादुरको उद्धार–समन्वयमा घरफिर्ती टिकटसहित झण्डै १ लाख रुपैयाँ खर्च गरेका छन् ।इकान्तिपूरकाे सहयाेगमा
Post a Comment