Loading...
बजारमा कारोबार भइरहेको मूल्यभन्दा आधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओ (फर्दर पब्लिक अफरिङ) खुला भएको छ।
सर्वसाधारणका लागि ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओको अंकित मूल्य १ सय
रुपैयाँ प्रतिकित्तामा प्रिमियम १३ सय २५ रुपैयाँ थपेर बिक्री खुला गरिएको
छ।
एफपिओमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ लगानी रहनेछ। कम्पनीको प्रतिसेयर कुल
सम्पत्ति मूल्य नै १७ सय ५९ रुपैयाँ रहेकाले कम्पनीको एफपिओ लगानीकर्ताका
लागि निकै आकर्षित देखिन्छ।
बुधबार सबैजसो संकलन केन्द्रहरुमा आवेदन भर्ने र बुझाउनेहरुको लामो लाइन लागेको छ।
मंगलबारसम्म कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता २८ सय ८० रुपैयाँमा
कारोबार भएको छ। एफपिओको मूल्य भने १४ सय २५ रुपैयाँ मात्रै छ। इच्छुक
आवेदकले कम्तीमा १० कित्ता अर्थात १४ हजार २ सय २५ रुपैयाँको आवेदन
दिनुपर्नेछ।
त्यस्तै बढीमा ३० हजार ९ सय ६० कित्ता अर्थात ४ करोड ४१ लाख १८ हजार
रुपैयाँको आवेदन दिन सकिनेछ। सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व
कायम गर्ने उद्देश्यले कम्पनीले एफपिओ निश्कासन गर्न लागेको हो। एफपिओ
बिक्री चाँडोमा माघ २ गते बन्द हुनेछ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ। एफपिओपछि २ अर्ब ४७
करोड पुग्नेछ। एफपिओपछि कोषको आकार ४ अर्ब १० करोड रुपैयाँको पुग्नेछ।
कम्पनीले चालु आवको पहिलो त्रैमासिक अवधिसम्म ५ करोड ८९ लाख रुपैयाँ खुद
नाफा कमाएको छ। अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा
रहेको छ। प्रतिसेयर नेटवर्थ १ सय २१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी
अनुपात ३ सय ७२ रहेको छ।
प्रतिसेयर कुल सम्पत्तिको मूल्य नै १७ सय ५९ रुपैयाँ रहेकाले एफपिओमा लगानी
निकै आकर्षित रहेको छ। कम्पनीको एफपिओमा ८ गुणाभन्दा बढीको आवेदन पर्ने
अनुमान छ। कम्पनीमा दुई महिनाभन्दा बढी समयसम्म अरबौं रकम होल्ड हुने भएको
छ।
कम्पनीको एफपिओमा आवेदन दिनेको संख्या १ लाखसम्म भएमा ४० दिनभित्र, १ भन्दा
बढी २ लाखसम्म भएमा ५० दिनभित्र र २ देखि ३ लाखसम्म भएमा ६० दिन र ३
लाखभन्दा बढीले आवेदन दिएमा ७० दिनभित्र बाँडफाँड गर्नुपर्ने प्रावधान छ।
कहाँ कहाँबाट दिन सकिन्छ आवेदन?
सिद्धार्थ क्यापिटल प्रधान कार्यालय, सिद्धार्थ बैंकका सबैजसो शाखा
कार्यालय, एनआईबिएल क्यपिटल लाजिम्पाट, कृति क्यापिटल बागदरबार, लक्ष्मी
क्यापिटल नयाँ बानेश्वर, ग्लोबल आईएमई क्यापिटल नाचघरबाट आवेदन दिन सकिनेछ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकका बालुवाटार र न्यूरोड लगायत
कार्यालयबाट पनि आवेदन दिन सकिन्छ।
Loading...
Post a Comment