Loading...
काठमाडौं २१ पुष – तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने भएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले बिहीबार उनको सम्पत्ति सरकारी हुने निर्णय गरेको हो। ‘प्रेरणा शाहको नाममा रहेको सम्पत्ति नेपाल सरकारको मातहतमा आउने गरी फैसला भएको छ,’ सर्वोच्चका सह-प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए। उनीहरुको इजलासले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर नेपाल ट्रष्टमा गभ्न सरकारले गरेको निर्णय बदर गरी पूर्व राजकुमारी प्रेरणाको नाममा गरिदिएको थियो। उक्त फैसला अन्तरिम संविधानविपरीत भएको, हेर्न नमिल्ने (स्वार्थ गाँसिएका) न्यायाधीश राणाले हेरेको र नियतवश नै छिटो फैसला गरिएको भन्ने आरोप लाग्दै विवादास्पद् बनेको थियो। आफ्नो अवकासको पूर्वसन्ध्यामा २०७२ असार ६ गते साहले फैसला गरेका थिए। फैसलाको पूर्णपाठ भने झन्डै वर्ष दिनपछि जेठमा मात्रै तयार भएको थियो। यो फैसला चित्त नबुझेपछि नेपाल ट्रष्टले पुनरावलोकन निवेदन दिएको थियो। सर्वोच्चले उक्त निवेदनमाथि सुनुवाई गर्दै उक्त जग्ग सरकारकै मातहत हुने गरी फैसला गरेको हो सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते निर्णय गरेको थियो।
त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी साह सर्वोच्च पुगेकी थिइन्। त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन्। सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो। अन्तरिम संविधानको धारा १५९ को उपधारा १ मा पनि यही लेखिएको थियो। उपधारा २ मा राजाको हैसियतले ज्ञानेन्द्रका नाममा भएको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख थियो। संविधानअनुसार २०६४ सालमा नेपाल ट्रष्ट ऐन बनेको थियो। सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर थियो।
न्यायाधीशद्वय साह र राणाको फैसलाले उनको जिकिरलाई सही मान्दै २०७२ असारमा फैसला गरेको हो। पूर्णपाठमा प्रेरणाको पक्षमा फैसला गर्नुका तीनवटा कारण दिइएको थियो। पहिलो, छाउनीको कित्ता नम्बर २५ को १५ रोपनी १ आना जग्गा र घर २०६२ सालमा महाराजधिराजका नाममा रैकर दर्ता भएको। दर्ता हुँदा महाराजधिराजका रुपमा ज्ञानेन्द्र रहेकाले उनैले त्यो जग्गा छोरीलाई दाइजो दिएको देखिन्छ। यो जग्गा वीरेन्द्र र उनका परिवारको नाममा भएको कसैले देखाउन नसकेको उक्त फैसलामा भनिएको छ। दोस्रो, दाइजो बकस पाइसकेपछि बनेको कानुन देखाएर ट्रष्टले उक्त सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउन पाउँदैन। ‘राजा वीरेन्द्र, रानी ऐश्वर्यसमेतको नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रष्टमा ल्याउन बनेको कानुनका आधारमा तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट आफ्नी छोरीलाई दाइजो दिइसकेको सम्पत्ति पछि बनेको कानुन देखाएर ट्रष्टको स्वामित्वमा ल्याउन र निवेदिकाको हकको सम्पत्ति हरण गर्न मिल्दैन,’ फैसलामा उल्लेख थियो। तेस्रो, नेपाल ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गर्नुपूर्व उक्त सम्पत्तिको हकभोगवाला प्रेरणालाई जानकारी नदिएको र आफ्ना कुरा राख्ने मौकै नदिएको। ‘सम्पत्ति वा अन्य कुनै हकमा आघात पुग्ने कुनै निर्णय वा काम कारबाही गर्नुगर्दा हकवालालाई सुनुवाइको मौका दिइनुपर्छ,’ फैसलामा लेखिएको थियो ‘कित्ता नम्बर २५ को जग्गा समेत ट्रष्टको नाममा ल्याउनुपूर्व सो सम्पत्तिको हकभोगवाला यी निवेदिकालाई बुझ्दै नबुझी गरेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय समेत प्राकृतिक न्यायको सिद्धान्तविपरीत देखिन्छ।’ सरकारी वकिलका अनुसार, वीरेन्द्रकी फूपु अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह मोही र भीमसेन तथा वर्ष बन्धन गुठी जग्गाधनी थिए।
कित्ता नम्बर ३७, ३८, ४० र ४१ का ती जग्गा राजा वीरेन्द्रले नापी गराएर ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरबारको नाममा नामसारी भएको थियो। ती कित्ता भिडाएर नयाँ नापी हुँदा कित्ता नम्बर २५ बनाइएको छ। २०६२ सालमा रैकरमा दर्ता हुँदा श्री ५ महाराजधिराज ज्ञानेन्द्र थिए। सरकारी जिकिर के भने, त्यो जग्गा ज्ञानेन्द्रको नाममा नभई महाराजधिराजको नाममा थियो। अन्तरिम संविधानले पनि राजाको हैसियतले ज्ञानेन्द्रको नाममा भएको जग्गा राष्ट्रियकरण हुने लेखिएको छ। ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएको भनिएको जग्गा उनको नाममा अहिलेसम्म पनि छैन। त्यसैले उक्त जग्गा व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति हो भन्ने सरकारी दाबी हो। सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर थियो। लोकतन्त्रको आन्दोलन उत्कर्षमा पुग्ने बेला तत्कालीन राजा ज्ञानेन्द्रले छाउनीस्थित करिब एक अर्ब रुपियाँभन्दा बढी मूल्य पर्ने घरजग्गा छोरी प्रेरणा राज्यलक्ष्मीलाई दाइजोस्वरूप बकस दिएका थिए। त्यसलाई नेपाल ट्रस्टले आफ्नो नाममा दर्ता गरेपछि प्रेरणाले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका-१३ छाउनीमा छ। अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ
Loading...
Post a Comment