काठमाडौँ, २८ मंसिर – नेपाली फुटबल मात्र होइन, पूरा नेपाली खेलकुदकै लागि, त्यति मात्र होइन, पूरा देशकै लागि यो नयाँ नजिर बस्नेछ।
नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टार क्षतिपूर्तिका रूपमा यो खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फासँगै करोडौं रुपैयाँ क्षतिपूर्ति माग्ने पक्षमा पुगेको छ। एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टार यो संघारमा पुगेको हो।
पूरा घटनाक्रम यसरी सुरु हुन्छ। राष्ट्रिय लिग विजेताका रूपमा थ्री स्टारले एएफसीकपको प्रारम्भिक छनोट खेलेको थियो। मंगोलियामा भएको त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो। त्यसमा विजयी भएको भए, थ्री स्टार सिधै प्रतियोगितामा मुल ड्रमा प्रवेश गर्ने थियो। यस्तो स्थितिमा नेपाली क्लब सामु अर्को वर्षदेखि छनोट नखेलेर सिधै प्रतियोगिता खेल्ने अवसर हुन्थ्यो। अझ सके, नेपालका तर्फबाट दुई क्लबसम्म पनि प्रतिनिधित्व गर्न पाउँथ्यो।
एसियाली क्लब फुटबलमा नेपालको सहभागिता शून्य भइरहेको स्थितिमा यो आफैमा ठूलो उपलब्धी हुने थियो। मुल प्रतियोगितामा राम्रो खेलेको भए, लाखौं डलर पुरस्कार रकममा जित्ने अवसर पनि थियो। तर एएफसीले थ्री स्टारलाई प्रतियोगिता प्ले अफ खेल्ने टिमको सूचीमै राखेन। यसको एउटै कारण थियो, एन्फाले समयमै थ्री स्टारको नाम नै पठाएन। समय सीमा बढाएर अवसर दिंदा पनि थ्री स्टारको आवश्यक डकुमेन्ट्स नै पठाएन।
एएफसीले इमेलको माध्यमबाट धेरैपल्ट सोधपुछ गर्दा पनि एन्फाले कुनै प्रतिक्रिया पनि दिएन्। एएफसीको नियम नै छ, आफ्ना प्रतियोगिताबारे उसले सिधै क्लबसँग कहिलै पनि सम्बन्ध राख्दैन। जति पनि काम छन्, सिधै देशको फुटबल संघ एफए सँग गर्ने हो। त्यसैले थ्री स्टारले यस विषयमा लामो समयदेखि एन्फासँग ताकेता पनि गरिरहेका हो। तर पनि एन्फा नराम्रोसँग चुक्यो र अहिलेको गम्भीर स्थिति आएको हो।
नेपाली फुटबल पण्डितहरूले पूरा घटनाक्रमलाई यस खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटनामध्ये एक मानेको छ। खेल मिलोमतोमा खेलाडी आजीवन तथा प्रशिक्षक प्रतिबन्धमा परेको र आर्थिक अनियमिताको आरोपमा एन्फाका तात्कालीन अध्यक्ष गणेश थापामाथि लामो समयका प्रतिबन्ध परेयता यो नयाँ काण्ड थपिएको हो। थ्री स्टारले प्रतियोगिताको प्ले खेल्न नपाउनुको अर्थ नेपाली क्लब फुटबल लामो समय पछाडि पर्नु हो।
यी सबै परिस्थितिबीच थ्री स्टारले एन्फासँग करोडौं रुपैयाँ क्षतिपूर्ति माग्न लागेको हो। थ्री स्टार स्रोतका अनुसार क्लवले यस विषयमा सम्बन्धित विशेषज्ञसँग गृहकार्य गरेको छ र क्षतिपूर्तिको रकम पाँचदेखि दस करोड रुपैयाँसम्म माग्ने सोच बनाएको छ। थ्री स्टारले पहिलो चरणको छनोट खेल्न मात्र ६० लाख रुपैंया खर्च गरेको थियो। यसै प्रतियोगिताका लागि भनेर घरेलु फुटबल नहुँदा पनि पूरा टिमलाई पारिश्रमिक दिएर राखेको थियो।
यस्तै थ्री स्टारले राष्ट्रिय लिग जित्दा पनि एक करोड रुपैंयाको हाराहारीमा खर्च गरेको थियो। यस्तै क्षतिपूर्तिमा थ्री स्टारले गुमाएको अवसर, प्रतियोगिता खेलेर जित्न सक्ने पुरस्कार रकम, समर्थकको भावनामा पुगेको चोट, अनि क्लवका प्रायोजक पछाडि हट्न सक्ने सबै खाले सम्भावना पनि जोडिएको छ। यस्तै थ्री स्टारले यी सबै घटनाक्रममा दोषी रहेका सबैलाई कारवाहीको पनि माग राख्ने भएको छ। यो माग एन्फाका नेतृत्व तहको राजीनामासम्म पनि हुन सक्छ।
पूरा घटनालाई लिएर एन्फा आफैले पनि छानविनका लागि आयोग गठन गरेको छ। यसबारे थ्री स्टारलाई दिएको जानकारीमा एन्फाले आफ्नो सचिवालयको तर्फबाट गम्भीर भुल भएको स्विकारेको छ। एन्फाको हालै बसेको केन्द्रीय कमिटीको बैठकमा पनि विशेषत महासचिव धीरेन्द्र प्रधानको राजीनामा मागिएको थियो। एएफसीले गरेका प्रत्येक पत्राचारमा पूर्वराष्ट्रिय खेलाडी प्रधानलाई नै सम्बोधन गरिएको छ। थ्री स्टारले चाल्ने यी सबै कदमले नेपाली फुटबलमा होइन, यससँग झिनो चासो राख्नेबीच पनि ठूलो सनसनी मच्चाउने तय छ। कान्तिपुरबाट
Post a Comment