0
Loading...
अब कलंकी, भक्तपुर र चाबहिलबाट पनि लाइसेन्सको काम हुने
यातायात व्यवस्था कार्यालयले अनलाइनबाटै लाइसेन्स आवेदन लिने काम थालेको छ। 
 
भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन सकिने प्रणालीको एक समारोहबीच उद्घाटन गरे। 
 
अब दैनिक ५ सय वटा मात्रै आवेदन स्वीकृत हुने यातायात व्यवस्था विभागले जनाएको छ। बागमति अञ्चलबाट लिइने दुई पांग्रे सवारीसाधनमा मात्रै यो व्यवस्था लागू हुने छ। चाँडै नै अन्य सवारी साधनका लागि पनि अनलाइन प्रणालीबाटै आवेदन लिने काम हुने बताइएको छ। 
 
हाल एकान्तकुनाबाट मात्रै लाइसेन्सको काम हुने गरेकोमा पुस १७ गतेबाट कलंकी र भक्तपुर तथा चाबहिलबाट २७ गतेबाट काम थालिने मन्त्री लेखकले बताए। 
 
सेतोपाटीसित कुराकानी गर्दै यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले यो प्रणालीबाट कार्यालयको भीड ८० प्रतिशतले कम हुने विश्वास व्यक्त गरे। 
 
अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछ। पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ। 
 
प्रत्येक आवेदकलाई छुट्टाछुट्टै समय दिइने भएकाले यसबाट यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्ने छ। 
 
यसअघि यातायात मन्त्री रमेश लेखकले कार्यालय पुगी लाइसेन्स आवेदन प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए। सो निर्देशन अनुसार अनलाइन प्रणालीको विकास गरिएको हो। 
 
यसबाट बिचौलियालाई दिनुपर्ने कमिसन हट्ने र विवरणहरु गल्ती हुने समस्या पनि हट्नेछ। हाल दैनिक सयौं संख्यामा मध्यरातदेखि लाइसेन्सको आवेदन बुझाउन एकान्तकुना कार्यालयमा भीड लाग्ने गरेको छ। 
 
कसरी भर्ने अनलाइन आवेदन? 
 
अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी खोल्ने। त्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।
 
त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ।
 
त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ। 
 
उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन।
Loading...

Post a Comment

 
Top