Loading...
वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि स्वागतमा विद्यार्थीलाई सडकमा उतारिएको थियो । सोही क्रमममा धपेडीका कारण र्यालीमा सहभागी होराइजन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययन गर्ने समीक्षाको बेहोशपछि मृत्यु भएको थियो । होराइजन माविका विद्यार्थीहरूले आफूहरूलाई जबर्जस्ती र्यालीमा जान बाध्य बनाइएको बताएका छन् । विद्यालयले र्यालीमा सहभागी नभए फेल गराउने धम्की दिएपछि आफूहरू गएको र समीक्षाको मृत्यु भएको उनीहरूको भनाइ छ ।
यता विद्यालयले भने अनिवार्य भनिएको तर बिरामीको हकमा जबर्जस्ती नगरिएको दाबी गरेको छ । ‘हामीले अनिवार्य सहभागी हुन भनेको थियौं’, विद्यालयका प्रिन्सिपल श्यामकुमार थापाले भने, ‘तर बिरामी विद्यार्थीलाई अनिवार्य गरेका थिएनौं । समीक्षालाई पनि सोधेका हौं, उनले नै जान्छु भनेपछि हामीले रोक्न सकेनौं ।’ र्यालीमा अनिवार्य आउन भने पनि फेल गराउने धम्की नदिइएको उनको भनाइ छ ।
समीक्षाका आफन्तले अहिले आफूहरू पीडामा रहेकाले केही प्रतिक्रिया नदिने बताएका छन् । घटनाको छानबिन हुनुपर्ने र आफूहरूले न्याय पाउनुपने मृतक समीक्षाका आफन्त शंकर पाण्डेले बताए । जिल्लाका अधिकारकर्मी र कतिपय समीक्षाका साथीले भने विद्यालयले जबर्जस्ती गरेका कारण घटना भएको दाबी गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् ।
घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । आयोगले र्यालीमै छात्राको ज्यान जानु गम्भीर घटना भन्दै छानबिन प्रक्रिया थालेको हो । आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको टोलीले आइतबारदेखि अनुसन्धान थालेको छ । आयोगले विद्यालयसँग बयान लिइसकेको छ भने घटनास्थलका प्रत्यक्षदर्शी र महिला तथा बालबालिका कार्यालयसँग सोधपुछसमेत गरेको मानवअधिकार अधिकृत रमेशकुमार थापाले बताए ।
जिल्ला शिक्षा, जिल्ला प्रशासन, प्रहरी र मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघसँग पनि घटनाबारे अनुसन्धान गरिने उनको भनाइ छ । ‘यो घटना गम्भीर हो, हामी अनुसन्धान गर्छौं । दोषीलाई कारबाहीको सिफारिस पनि गर्नेछौं, घटनामा राज्यका निकाय बढी जिम्मेवार छन्’, आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले भने ।
सुर्खेतलाई २०७० फागुन १४ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर उक्त घोषणा उल्लंघन गर्दै बालबालिकालाई विद्यालय नै बन्द गरेर र्यालीमा उतारिएको भन्दै अधिकारकर्मीले कारबाहीको माग गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयले पनि विद्यार्थीलाई आफ्नो अनुमतिबिनै र्यालीमा सहभागी गराएको भन्दै विद्यालयसँग स्पष्टीकरण मागेको छ । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटनका क्रममा बिहीबार निकालिएको र्यालीमा घन्टौंसम्म लाम लाग्दा समीक्षा बेहोश भएकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ |
Loading...
Post a Comment