0
Loading...
तस्वीरः प्रधानमन्त्रीको सचिवालय
तस्वीरः प्रधानमन्त्रीको सचिवालय
प्रेम नेपाली
पोखरा, १ पुस ।
प्रधानमन्त्री प्रचण्डले आफूसँग केहि पनि सम्पत्ति नभएकाले सर्वहारा भएको बताएका छन् । उनले सम्पत्ति विवरणमा उल्लेख गरेको एक कठ्ठा जमिन र तीन तोला सुन पनि पार्टीकै भएको बताएका छन् । पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘मैले उपभोग गरिरहेको सबै सम्पत्ति पार्टीकै हो ।’
प्रधानमन्त्री प्रचण्डले भने,‘ आफूले सार्वजनिक गरेको एक कठ्ठा जग्गा र तीन तोला सुन पनि मेरो होइन, मेरो जे छ सवै पार्टीको हो । म त केहि पनि नभएको पुरै सर्वहारा हुँ, म सँग आफ्ना सन्तानलाई दिने केहि पनि सम्पत्ति छैन ।’ उनको दावी थियो, ‘गाडी, घर, सम्पति सवै पार्टीको हो, यो कुरा पत्याउनु हुन्छ भने ठिक छ, कसैले पत्याउँदैन भने कहाँ कति सम्पति छ ? प्रमाणित गरिदिए राजनीतिवाट सन्याय लिन्छु ।’
सबै सम्पत्ति पार्टीलाई बुझाएँ
नेपालमा प्रधानमन्त्री, मन्त्री भएपछि र उच्च ओहोदामा पुगेपछि अकुत सम्पति आर्जन गरी घरघडेरी जोड्ने, गाडि किन्ने, महल बनाउने, बैंक ब्यालेन्स राख्ने, बिदेशमा सम्पत्ति थुपार्नेहरुले आफूसँग सम्पत्ति केहि छैन भन्दा पत्याउन गाह्रो परेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे । माओवादीमा प्रबेश गर्दा सवै सम्पत्ति पार्टीलाई बुझाउने भनी निर्णय गरेकाले भएभरको सम्पत्ति पार्टीलाई बुझाएको र अहिले अाफू सर्वहारा भएकाे उनले जानकारी दिए ।
आन्दोलनमा रहेका नेताहरु पनि सहमतिमा आउँछन्
त्यसैगरी, नेकपा (माओवादी केन्द्र)को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डलाइ कार्यकर्ताहरुले माओवादी नेता तथा कार्यकर्ताले पनि अकुत सम्पत्ति जोडेकाे बताउँदै त्यसको छानविन गरी प्रतिबेदन सार्वजनिक गर्न माग गरे । सवालजवाफमा प्रधानमन्त्री प्रचण्डले नैतिक दृष्टिले आफूसँग भएको सम्पत्ति सार्वजनिक गर्नुपर्ने भएतापनि कानुनले बाध्य नपारेकाले समस्या भएको वताएका थिए ।
संबिधान संशोधनप्रति मधेसवादी दलका साथै सवै राजनीतिक दलहरु सहमत भएको दावी गर्दै आफ्ना पार्टीका नेता र कार्यकर्ता अहिले बिरोधमा उत्रिए पनि पछि पार्टीकै निर्णय मान्ने प्रधानमन्त्री प्रचण्डले ठोकुवा गरे । प्रदेश नं.५ टुक्र्याएको भन्दै बिरोधमा उत्रिएका माओवादी केन्द्रका नेता टोपवहादुर रायमाझी र कांग्रेस नेता चन्द्रवहादुर भण्डारीलगायतले जनताको भावनाको कदर गरी प्रर्दशनमा सहभागि भएपनि उनिहरुले पार्टीकै निर्णय मान्ने जिकिर गरे ।
आफूले गर्दा राष्ट्रवादी, अर्काले गर्दा कसरी राष्ट्रघाति ?
पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने अडान राखे । विपक्षी दलहरुले सदन र सडक अवरुद्ध पारेर गरिएको आन्दोलनको कुनै अर्थ नभएको प्रष्टिकरण पनि दिए । प्रधानमन्त्री प्रचण्डले सहमतिका आधारमा चार महिनाको पूर्णतयारी पश्चात् संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा सरकारको तर्फबाट दर्ता गरिएको ठोकुवा गरे ।
प्रधानमन्त्री प्रचण्डले भने ‘केपि ओली प्रधानमन्त्री हुँदा तयार पारिएको संशोधन प्रस्तावलाई मैले संसदमा दर्ता गराएको हो ।’उनले भने ‘एमालेले पहिल्यै तयार पारिसकेको संशोधन प्रस्ताव मैले संसदमा दर्ता गर्दा देश टुक्र्याउन खोज्यो, जातिय सद्भाव खल्बलाउन लाग्यो भन्दै सडक र संसदमा बिरोध गर्नुको के अर्थ छ ? त्यही काम आफूले गर्दा राष्ट्रवादी हुने अर्काले गर्दा कसरी राष्ट्रघाति हुन्छ ?’
यहीँ सरकारले स्थानीय तहको निर्वाचन गर्छ
मुख्य दल सहमतिमा नआए अहिलेको उपलब्धिसमेत गुम्ने खतरा रहेकोतर्फ सचेत गराउँदै प्रधानमन्त्री प्रचण्डले आफूले हिमाल, पहाड र तराईका जनतालाइ मिलाएर लैजान लागेको बताए । कांग्रेससँग भएको सहमति पुरा गर्न आफूले एक इन्च पनि पछि दायाँवायाँ नगर्ने बताउँदै प्रचण्डले स्थानीय तहको निर्वाचन आफ्नै कार्यकालमा गराउने सहमति भएको खुलासा गरे । ‘स्थानीय तहको चुनाव मेरै नेतृत्वमा गर्ने सहमति भएको छ,’ उनले भने ‘चुनाव नभएसम्म मैले सरकार छाड्ने कुरै आउँदैन । मेरो नेतृत्वको सरकार रहिरहन्छ ।’
स्थानीय तहको चुनाव चैतमा नभए बैशाखमा
प्रधानमन्त्रीले एकाध पार्टी बाहेक अधिकांश पार्टी स्थानीय तहको चुनाव, अख्तियार प्रमुख विरुद्वको महाभियोग र संबिधान संशोधन प्याकेजमा गराउन सहमत भएको दावी गरे । स्थानीय तहको चुनाव चैतमा नभए बैशाखमा गर्ने र त्यसपछि प्रदेश र केन्द्रीय तहको चुनाव गर्ने सहमति भएको उनले जानकारी दिए ।
Loading...

Post a Comment

 
Top