0
Loading...
१५ पुस, पोखरा । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा निरन्तर बाधा हालिरहेको बताएका छन् ।
कास्कीको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले आफू मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको बताए । इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको भन्दै उनले भने, ‘काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ।’
जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको उनले बताए ।
कांग्रेस सांसद यज्ञ बहादुर थापाले वर्तमान सरकारमा उर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै नीजि क्षेत्रको लगानी प्रोत्साहित हुनेगरी काम गर्न सुझाव दिएका छन् । उनले सीसाघाट-सिक्लेस-मादी करिडोर सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
एमाले सांसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा सञ्चालित जलविद्युत आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गरे । उनले पर्यटकीय नगरी पोखरालाई तत्काल लोडसेडिङमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ पुस १३ गते माथिल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गरेका थिए ।
मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्टि्रक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको छ । चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट आजदेखि केन्द्रीय प्रसारण लाईनमा साढे १२ मेगावाट बिद्युत थपिएको छ ।
आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात २५ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ ।
Loading...

Post a Comment

 
Top