0
Loading...
काठमाडाैं, १६ पुस । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ ।
हाकिमको घरमा काम, तलब सरकारको
विभागका कर्मचारीलाई सूचना संकलनबाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन । तर, सोर्सफोर्स र दबाबका भरमा उनीहरूलाई अनुसन्धान विभागबाट तलब दिएर हाकिमहरूको घरमा कामदारका रूपमा खटाइने गरेको छ ।
विभागको प्रमुखबाट देवीराम शर्माले अवकाश पाएको आठ वर्ष भइसकेको छ । तर, उनको घरमा रामनाथ चौधरी घरेलु कामदारका रूपमा कार्यरत छन् । सिपाहीदेखि नै शर्माको घरमा बसेका चौधरी सइमा बढुवा भइसकेका छन् । उनको जिम्मेवारी शर्माको घरमा घरेलु कामदारकै रूपमा सीमित छ । आफ्नो घरमा बसे पनि सइ चौधरीले विभागमा कामसमेत गर्दै गरेको शर्माको दाबी छ । स्रोतका अनुसार कार्यालयमा हाजिर गरेको देखाएर उनले चौधरीलाई घरमा काम लगाउँदै आएका छन् । चौधरीजस्तै विभागमा धेरैजना सरकारको तलब लिएर नेता–हाकिमहरूको घरमा काम गर्दै आएका छन् ।
सोर्सफोर्स र आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति
विभागमा गत वर्षसम्म सोर्सफोर्स र आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति हुँदै आएको थियो । नयाँ संविधानले विभागमा कर्मचारी नियुक्तिमा लोकसेवा आयोगको प्रतिनिधित्व अनिवार्य प्रतिनिधित्वको र सहमतिको व्यवस्था कायम गरेपछि सोर्सफोर्सका आधारमा नियुक्ति बन्द भएको छ । विगतमा विभागमा राजनीतिक हस्तक्षेप हुने गरेकाले कर्मचारीहरूको अहिलेसम्म दुरुपयोग भएको हो ।
राजनीतिक दलका धेरै नेताहरूको घरमा गुप्तचरका कर्मचारीहरू कार्यरत छन् । नेताहरूले शक्तिको प्रयोग गरी आफ्ना कार्यकर्तालाई अनुसन्धानमा कर्मचारी भर्ना गर्ने गरेका छन् । विभागबाट तलब दिलाएर दलका नेताहरूले उनीहरूलाई आफ्नो घरमा काम गराउँदै आएका छन् ।
अनुसन्धानका कर्मचारी घरेलु कामदार बस्ने व्यवस्था छैन
राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा नियमावलीमा नेता तथा हाकिमहरूले आफ्नो कर्मचारीलाई खटाउने कुनै प्रावधान छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष कार्यविधि बनाएर अवकाशप्राप्त एआइजीहरूलाई परिचरको सुविधा खटाउँदै आएका छन् । तर, अनुसन्धान विभागमा त्यस्तो कुनै प्रावधान छैन । सोर्सफोर्सका आधारमा ५० भन्दा धेरै कर्मचारी सरकारको तलबमा नेता र हाकिमहरूको घरमा काम गर्दै आएका छन् । करिब तीन हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागमा धेरै जनशक्तिको दुरुपयोग हुँदै आएको छ ।
विभागमा अधिकांश राजनीतिक सोर्सफोर्सका आधारमा भर्ना भएकाले उनीहरूले आफूअनुकूल र धेरैले गृहजिल्लामा सरुवा मिलाएका छन् । जहाँ उनीहरू कार्यालयमा हाजिर गरेर आफ्ना व्यवसायलगायत अन्य काममा लाग्ने गरेका छन् । निवर्तमान गृहमन्त्री शक्ति बस्नेतले गत वर्ष संसद्को राज्यव्यवस्था समितिमा विभागका अधिकारीहरूले आफूले चाहेअनुसार सरुवा गर्न सके धेरै सुधार हुने बताएका थिए । तर, नेताहरूको दबाबका कारण विभागका कर्मचारीलाई सरुवा गर्न नसकिएको उनको भनाइ थियो ।
कुन हाकिमका घरमा कति गुप्तचर ?
स्रोतका अनुसार विभागका प्रमुख दिलीप रेग्मी र एआइजीहरूले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन् । अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका दुईजना कर्मचारी काम गर्दछन् । यसैगरी, पूर्वप्रमुख हरिबाबु चौधरी, गोविन्द थापा, विष्णुराज पन्त, अशोकदेव भट्टको घरमा पनि एक–एकजना अनुन्धानका कर्मचारी घरेलु कामदारका रूपमा कार्यरत छन् । पूर्वडिआइजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ । झा मधेस छानबिन आयोगको सदस्य हुन् ।
गृहप्रवक्ता र विभाग प्रमुखको कुरा बाझियो
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले घरेलु कामदारका रूपमा काम गरेकोबारे आफूलाई जानकारी नभएको बताए । विभागका प्रमुख दिलीप रेग्मीले अवकाशप्राप्त प्रमुखहरूलाई सहयोगीको सुविधा नभएको बताए । यद्यपि, एक–दुईजना कर्मचारी कसैको घरमा खटिएको हुनसक्ने उनले स्विकारे ।
Loading...

Post a Comment

 
Top